Photo Gallery

Photo Gallery

Photo of Utsuk Channel.

Title 2

Description for second slide.

Title 3

Description for third slide.

Wednesday, August 17, 2016

धम्पुस घुम्न जाँदा...

विगत वर्षहरूमा झैँ यस वर्ष पनि हामी श्री चण्डीका आधारभूत विद्यालयका शिक्षक शिक्षिकाहरू मिली कुनै नयाँ ठाउँको भ्रमण गर्ने योजना बनायौँ । कहिले जाने, कहाँ जाने भन्ने विषयमा आएका विभिन्न प्रस्तावहरूबीच आखिरमा छनौट भयो हाम्रो गन्तब्य धम्पुस २०७३ साउन २८ गतेको लागि ।

साउन २८, २०७३ ।
हामी धम्पुसको यात्रामा निस्कियौँ । यसैबिच हामीलाई पोखरा १३ चिसापानीमा अवस्थित श्री डिज्नी मन्टेश्वरी विद्यालयको अवलोकन भ्रमण गर्ने अवसर मिल्यो । विद्यालयको कुशल व्यवस्थापन, भौतिक सुविधा, सुन्दर सजावट देखेर हामी मोहित भयौँ ।




त्यसपछि हामी हेम्जा, सुइँखेत, फेदी, घट्टेखोला हुँदै धम्पुसको उकालोतिर बाटो ततायौँ । वर्षाको बेला, कच्ची बाटो, मोटरसाइकलको यात्रा... तरपनि हामी उत्साहित थियौँ । उकालोमा ट्याँट् ट्याँट् हर्न बजाउँदै हामी धम्पुस देउरालीमा पुगेर केहीबेर सुस्तायौँ । त्यहाँबाट चारैतिर देखिने मनमोहक दृश्यहरू हेर्दै खाजा खायौँ, तथापी हामीलाई मौसमले त्यति साथ दिएन ।
पृथ्वीनारायण मा.वि. का शिक्षक सम गुरुङ सरको Hotel Orchid मा पुगेपछी सरले हामीलाई मेड इन धम्पुस अर्ग्यानिक चिया बनाएर पिलाउनुभयो, त्यो चियाको चुस्कीसँगै सारा थकान चुट्कीमा गाएब भयो । फ्रेस भएपछि हामी गाउँ घुम्न निस्कियौँ ।

त्यसो त म ल्वाङघलेलमा जन्मे हुर्केको मान्छे, दक्षिणतिर आँखै अगाडी देखिने गाउँ हो धम्पुस । केही वर्ष पहिले त्यहाँ फागु पूणिर्मामा मेला लाग्दा दोहोरी गाउन समेत पुगेको गाउँ हो धम्पुस तरपनि धम्पुसलाई यतिबेला अझै नजिकबाट नियाल्ने मौका पाएँ मैले । रुप फेरेछ धम्पुसले, होटलै होटलको गाउँ भएछ धम्पुस । एकजना दिदिले लमजुङदेखि आएर धम्पुसमा होम स्टे खोल्नुभएको रहेछ, एकैछिन वहाँका कुरा सुन्यौँ, सल्युट गर्न मनलाग्यो वहाँको प्रकृत्रि्रेम, देशप्रेम अनि असिम उत्साहलाई । सुन्दर गाउँ, सुन्दर मान्छेहरु, सफा वातावरण... हामीलाई लोभ्यायो धम्पुसले । होटल अर्किडमा अति नै पारिवारिक वातावरणमा बेलुकाको खाना खाएपछि साथीहरूसँग केहीबेर रमाइलो गरि भोलीको सूर्योदय धम्पुसको निर्माणाधिन सनराइज भ्यू टावरबाट हेर्ने तथा अस्ट्रेलियन क्याम्पमा घुम्न जाने योजना बनाई सुत्यौँ ।
साउन २९, २०७३ ।
हामी सुन्दर स्थानबाट नयाँ दिनको सूर्योदय हेर्ने उत्सुकताका साथ निद्रादेवीको काखबाट जुरुक्क उठ्यौँ । तर विडम्बना, हामीलाई मौसमले साथ दिएन । एकाबिहानै बाक्लो कुहिरो डम्म भरिएर सूर्योदय त के, नजिकैको दृश्य पनि नदेखिने भयो । माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी, मर्दिहिमाल, हिउँचुली नव बिहानीको सूर्यको किरणसँगै मुस्कुराएको हेर्ने योजना त्यो कुहिरोमै हरायो ।
तरपनि हामीले अस्ट्रेलियन क्याम्प पुग्ने योजनालाई चाहिँ स्थगित गरेनौँ । जस्तोसुकै मौसम भएपनि अस्ट्रेलियन क्याम्प पुगी छाड्ने निधो गरेर हामी बिहान सवा ६ बजेतिर धम्पुसबाट उकालो लाग्यौँ । बाटोमा देखिएका लाली गुराँस, चन्दनका बोटहरू हेर्दै हिँड्दा हाम्रा खुट्टामा जुकाले रजाई गरिसकेका हुन्थे, तरपनि हामी अगाडी बढिरह्यौँ । कहिले चौतारीमा थकाई मार्दै, कहिले चौरमा सेल्फी हान्दै हामी उकालो लाग्यौँ । जमान सर -हेडसर) का रमाइला कुरामा हाँस्दै हिँड्दा बाटो काटेको पनि पत्तै भएन । करिब साढे ७ बजेतिर हामी अस्ट्रेलियन क्याम्पमा पुग्यौँ ।
त्यहाँ पुगेर पूर्वतिर सुन्दर नगरी पोखरा, फेवाताल र आसपासका क्षेत्रहरू, दक्षिणतिर ढिकुरपोखरी र लुम्ले -काँडे), पश्चिमतिर हरियो मनमोहक जंगल र उत्तरतिर सुन्दर ल्वाङघलेल र रिभानको दृश्यावलोकन गर्‍यौँ, तर मोतीका लहरहरू चाहिँ किन हो कुन्नी घुम्टोबाट निस्कनै मानेनन् । करिब एक डेढ घन्टा हामी त्यहाँको वातावरणमा एकाकार भयौँ, त्यसपछि फेरी जंगलको बाटो धम्पुस गाउँतिरै रमाना भयौँ । बाटोमा यति रमणिय बतासे डाँडा रहेछन्, जसको बयान म शब्दमा गर्न सक्दिन, त्यहाँ सुस्ताउँदाको आनन्द लिन तपाई स्वयं त्यहिँ पुग्नुपर्छ ।
निर्माणाधिन भ्यू टावर धम्पुस
गाउँको माथी भ्यू टावर बन्दै रहेछ, कामदार दाजुहरूले छत सम्म पुग्न त दिनुभएन तैपनि २ तल्ला माथी सम्म भने उक्लिछाड्यौँ । चारैतिर ड्यम्मै लागेको कुहिरो "भ्यू" गरेर फर्कियौँ । फेरी उहि होटल अर्किडमा फर्कियौँ । म्याडमले मिठो खिर तयार गरेर हामीलाई पर्खिरहनु भएको रहेछ, खिर खाएपछि वहाँहरूसँग बिदाबारी भएर पोखराको लागि रमाना भयौँ ।
हाम्रो तन पोखरा तिर हुइँकिरहेको थियो, तर मन भने धम्पुसमै टाँसिएको थियो । त्यो सुन्दर धम्पुस, त्यो मनमोहक धम्पुस, त्यो र्स्वर्गको टुक्रा धम्पुस, कसैले भन्थे, नमरी स्वर्ग देखिन्न, हामीले जिउँदैमा देखेको स्वर्ग हो धम्पुस ।

No comments:

Post a Comment