सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Monday, September 18, 2023

शिक्षा ऐनमा समेट्नुपर्ने मेरा १० सुझावहरू:

 १. पाँच वर्ष वा सो भन्दा बढि निरन्तर एउटै विद्यालयमा कार्यरत भएमा शिक्षकलाई नियमित सरुवा हुने व्यवस्था मिलाउने, यसरी सरुवा गर्दा शिक्षकलाई विद्यालय रोज्ने अवसर प्रदान गर्ने, सरुवा हुनासाथ एक तह बढुवा हुने व्यवस्था गर्ने ।

२. प्रधानाध्यापकको नियुक्ति सिफारिस र रोलक्रम निर्धारण शिक्षक सेवा आयोगले गर्ने र प्रधानाध्यापक नियुक्त भएको शिक्षकलाई तुरुन्तै एक तह बढुवा गर्ने । प्रत्येक पालिकाबाट कम्तिमा दशजना प्रधानाध्यापकलाई गणतन्त्र दिवस वा अन्य कुनै विशेष समारोहमा मानपदवी अर्पण गर्ने ।

३. समान तहका निजामती कर्मचारीको भन्दा शिक्षकको तलब, भत्ता, यातायात, सन्चार, आवास, भ्रमणादि भत्ता कम्तीमा २०% बढि हुने व्यवस्था मिलाउने । समान तहका कर्मचारीले प्राप्त गर्ने इन्धन सुबिधाको कम्तिमा १०% बढि इन्धन शिक्षकलाई उपलब्ध गराउने । शिक्षकको तलब, भत्ता तथा अन्य सुविधा हरेक महिना शिक्षकको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउने ।

४. कार्यसम्पादन मूल्यांकन फारम अनलाइनमा भर्ने व्यवस्था मिलाउने, कुन शिक्षकको कार्यसम्पादन मूल्यांकनमा कति अंक प्राप्त भएको छ भन्नेकुरा पारदर्शी बनाउने । कुनै कर्मचारीले शिक्षकको कार्यसम्पादन मूल्यांकनमा नियतबस कैफियत गरेको प्रमाणित भएमा यस्ता कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरि बर्खास्त गर्ने ।

५. आफ्ना सन्तानलाई सामूदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई प्रोत्साहन भत्ता र सन्तानलाई छात्रवृत्तिको व्यवस्था गर्ने । कुनैपनि, शिक्षक, अभिभावक, सरकरी कर्मचारी वा जुनसुकै व्यक्ति विद्यालयमा मादक पदार्थ सेवन गरि प्रवेश गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने ।

६. शिक्षकलाई विद्यालय समय बाहेक अन्य समयमा कानुनले निषेध गरेको बाहेक जुनसुकै कार्यक्रम र समारोहमा सरिक हुने स्वतन्त्रता हुने । शिक्षकलाई कसैले गालिगलौज, धम्की, शारीरिक एवं मानसिक पिडा र त्रासको वातावरण सृजना गरेमा पिडकलाई तुरुन्तै फौजदारी अभियोग लगाई पिडित शिक्षकलाई नि:शुल्क कानुनी परामर्शदाता उपलब्ध गराउने, कुनै निजामति कर्मचारीले शिक्षकको अपमान गरेमा निजलाई घटुवा देखि निलम्बन सम्मको सजायँ हुने व्यवस्था मिलाउने ।

७. हरेक शिक्षकलाई खाजाको मेनु तोकि नि:शुल्क खाजा/नास्ताको व्यवस्था गराउने। जाँड रक्सी सेवन नगर्ने तथा सात्विक भोजन गर्ने शिक्षकलाई विषेश सम्मान गर्ने ।

८. समान तहका अन्य कर्मचारीको भन्दा शिक्षकको मर्यादाक्रम एक तह माथी हुनुपर्ने। कुनैपनि कार्यालय, अस्पताल वा अन्य सार्वजनिक स्थलमा शिक्षकले पालो कुर्नु नपर्ने वा शिक्षकको कामलाई प्राथमिकतामा राख्नुपर्ने व्यवस्था मिलाउने । शिक्षण सबैभन्दा सम्मानित पेशा हो भन्ने मानक स्थापित गराउन जो कोहीले जहाँकहिँ शिक्षकको सम्मान गर्नुपर्ने व्यवस्था मिलाउने । "भविष्यको लक्ष शिक्षक बन्ने" हुनेगरी अब्बल विद्यार्थीहरू शिक्षण सेवामा प्रवेश गर्ने वातावरण सृजना गर्ने । 

९. जो कोहि पत्रकार तथा युटुबे जथाभावी विद्यालय तथा कक्षामा घुसी जथाभावी भिडियो तथा अडियो रेकर्ड गर्न नपाउने व्यवस्था गर्ने । यदि कारणवश रिपोर्टिङ गर्नैपर्ने भएमा सम्बन्धित पालिकाको शिक्षा साखाको सिफारिसमा सम्बन्धित विद्यालय तथा शिक्षकको समेत स्विकृति लिई छायांकन तथा रेकर्ड गर्न अनुमति पाउने । यसरी छायांकन तथा रेकर्ड गरिएका विषयलाई नियतवश विषयान्तर गरी, सम्पादन गरी वा तोडमोड गरी शिक्षकको बेइज्जत हुने गरि प्रकासन वा प्रसारण गर्ने जो कोहिलाई कानुनी कारबाहीको दायरामा ल्याउने ।

१०. एक शैक्षिकसत्रमा प्रत्येक विद्यालयका कम्तिमा एक शिक्षकलाई यूरोपियन, अमेरिकन वा विश्वका कुनै ख्यातिप्राप्त विश्वविद्यालयमा सरकारी खर्चमा नियमित भ्रमण गराउने व्यवस्था गर्ने । भ्रमणबाट फर्केपछि आफुले देखेका, अनुभव गरेका र सिकेका कुराहरूलाई आफ्नो विद्यालयमा लागु गर्ने शिक्षकलाई थप प्रोत्साहन तथा पुरस्कारको व्यवस्था गर्ने ।

- सुझावकर्ता:

श्री टिकाराम गौतम "उत्सुक"

(सामाजिक अध्ययन शिक्षक)

श्री सिद्धार्थ मा.वि.

भिमाद-१, तनहुँ 

www.tikagautam.com.np

No comments:

Post a Comment