ठिक्क खाजा खाएर पनि सक्नु, रिजल्ट पनि निस्कनु, हतार हतार नतिजा फाइल डाउनलोड गरेर हेरें, अन्तरवार्ता दिन जाँदा सँगै एउटै बेडमा बसेको साथी दीपक तिवारीको नाम एक नंबरमा रहेछ तर मेरो नाम चाहिँ वैकल्पिकको एक नंबरमा रहेछ । साथीलाई फोन गरेर बधाई दिएँ, सहकर्मी शिक्षक साथीहरूलाई दिपावली तथा छठको शुभकामना दिएर म चाहिँ घर फर्कें । सफल भएका साथीहरूका लागि बधाईको ओइरो आउन थालिसकेको थियो, चिनेसम्मका साथीहरूलाई फेसबुक कमेन्टमा, म्यासेन्जरमा अनि फोनमा बधाई दिँदै थिएँ, तर आफ्नो नाम लिस्टमा नअटाउँदा मन अमिलो त हुने नै भयो ।
हाँसो ठट्टा गर्ने अनि साथीहरू सँग छिटै घुलमिल हुने स्वभावका कारण पनि हुनसक्छ, अन्तरवार्ताका क्रममा धेरै साथीहरूसँग चिनजान भएको थियो । फोन नं. पनि साटासाट भएको थियो । फोन लागेसम्मका साथीहरूलाई बधाई दिएँ । खुला र महिलामा २ जना महिलाको नाम निस्केको थियो, तर अन्तरवार्ताको रिजल्ट हुँदा त ३ जना महिलाको नाम देखियो । फोन वहाँलाई पनि गरें र बधाई पनि दिएँ । तर लिखितमा खुलामा नामै ननिस्केको तर महिलामा मात्रै निस्केको उम्मेदवारको नाम खुलामा कसरी आयो? यदि वहाँको नाम महिलामा निस्केको भए मेरो नाम सफल उम्मेदवारको सूचीमा हुने थियो, आयोगले यो निर्णय त्रुटिपूर्ण गर्यो जस्तो चाहिँ लाग्यो । तनाव भयो, विद्यालयका सहकर्मी शिक्षक मित्रहरू मर्दी हिमाल घुम्न जानुभयो, आफुलाई त्यो उत्साह पनि भएन, दिदी बहिनी नभएपनि पोहोर पोहोर दाजुभाई मिलेर टीका लगाइन्थ्यो, तिहार रमाइलो बनाइन्थ्यो, यो वर्ष केही जाँगर लागेन ।
कार्तिक ६ गते साँझपख मात्रै रिजल्ट भएको, ७ गतेदेखि १३ गतेसम्म तिहार र छठ बिदा थियो, आयोगमा फोन गर्दा सम्पर्क हुनै सकेन, सूचना अधिकारी सुरेश मरहठ्ठा सरको मोबाईल स्विच अफको स्विच अफ थियो । धेरैजना साथीहरूलाई फोन गरेँ, पालिका शिक्षा प्रमुख लगायत शिक्षा क्षेत्रका धेरै सर म्याडमहरूलाई फोन गरें, धेरैजनाको एउटै आवाज थियो, "आयोगले गरेको निर्णय त्रुटिपूर्ण छ, यो सच्चिनै पर्छ, किनकी लि.प. मा महिलामा मात्रै नाम निस्केको उम्मेदवारको खुलामा प्रतिस्पर्धा नै हुँदैन।"
मनमा झिनो आशा लिएर आयोगलाई निवेदन लेखेँ, अलि व्याकरण मिलेन कि जस्तो लाग्यो, अर्को लेखें, अलि कडा भयो कि जस्तो लाग्यो अलि नरम लेखें, तनावै तनावका बीच निवेदन लेखें । नतिजा सँग सम्वन्धित प्रमाणहरू जुटाएँ अनि फाइल तयार गरेर १३ गते नाइट बसमा काठमाडौं जाने र १४ गते आफिस खुल्नासाथ शिक्षक सेवा आयोगमा पुगेर "निर्णय सच्याई पाऊँ" भनी निवेदन दिने योजना बनाएँ । दशैंमा बुझेको तलबले उधारो तिर्दा, दशैं तिहार मनाउँदा (देउसीलाई दान गर्दा), अन्तरवार्ता दिन जाँदा ४ दिन काठमाडौं बस्दा लगभग सकिई सकेको थियो, सापटी लिएर १३ गते पोखरा बसपार्कमा पुगेँ तर गाडी सबै प्याक, काउन्टरमा ३ घन्टा बस्दा पनि टिकट नपाएपछि भोलिपल्ट बिहानै जाने निर्णयमा पुगें, प्लेनमा जाने हैसियत थिएन। उसै त तनावग्रस्त भएको बेला झन् समयमा आयोगमा पुग्न नसकिने अर्को तनाव थपियो । रिजल्ट भएको यतिका दिनसम्म किन नतात्नु भएको, आयोगमा खबर किन नगर्नुभएको भनेर साथीहरूको जिज्ञासा निरन्तर आइरहेको थियो ।
१४ गते बिहान पनि बल्लतल्ल साढे आठ बजेको माइक्रोबस भेटाएँ, मनमा आशा, उत्साह बोकेर काठमाडौंको लागि छुटेँ । साथीहरूसँग निरन्तर सम्पर्कमा थिएँ, शिक्षक साथी तथा इष्टमित्रहरूले बडो चिन्ता र चासो लिइरहनुभएको थियो । म काठमाडौं जाँदैगर्दा आयोगमा सम्पर्क गरेर जिज्ञासा राखिसक्नुभएछ, आयोगले त्रुटी स्विकार्दै निर्णय सच्याउने आश्वासन दिएको रहेछ । ठाउँ ठाउँको जाम झेल्दै साँझ करिब साढे ५ बजे काठमाडौं बसपार्कमा ओर्लने बित्तिकै सहकर्मी मित्र दीपक पोखरेल सरले फोन गरेर बधाई दिनुभयो । म छक्क पर्दै सोधें, "किन सर? के भयो र?" "आयोगले निर्णय सच्यायो सर, हजुरको नाम निस्कियो!", वहाँले भन्नुभयो । वेबसाईट चेक गरें, हो रहेछ। शिक्षक सेवा आयोगको त्रुटिपूर्ण निर्णयका कारण भोग्नुपरेको नौदिनको तनाव काठमाडौं बसपार्कमा उत्रदैगर्दा उत्साहमा परिवर्तन भयो, मलाई पनि बधाईका फोन र म्यासेजहरू आउन लागे, तर एकजना साथीकाे नाम महिलातर्फ सफल उम्मेदवारको सूचीमा यसअघि प्रकाशित भएकोमा अहिले वैकल्पिक सूचीमा परेको देख्दा चाहिँ नरमाइलो लाग्यो, गल्ती आयाेगकाे हाे, सहानुभूती बाहेक के नै दिन सकेँ र...
साच्चिकै पिडादाएक हो सर
ReplyDeleteCongratulations once again 🎂🎊
ReplyDelete