सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Wednesday, January 3, 2018

निखिल उप्रेतीको नक्कल गर्दा झण्डै गएन ज्यान....

निखिल उप्रेती नेपाली चलचित्रमा स्टन्ट लिएर आएका नायक हुन् । उनको पहिलो चलचित्र पिँजडा हेर्दा म सानैँ थिएँ, तरपनि त्यो चलचित्र हेरेदेखि नै म उनको फ्यान बनेको हुँ । त्यसपछि त उनका चलचित्रहरु नियमित जस्तै हेर्न थालेँ । उनको जस्तै स्टाइलमा अभिनय गर्न पाए... त्यसैगरि उडि उडि किक हान्न पाए... भन्ने लागिरहन्थ्यो । उनि त हिरो, जे पनि गर्न सक्छन् तर म बबुरो... जस्तो लाग्थ्यो । कर्तव्य चलचित्रमा जस्तै लट्ठी घुमाउँछु भन्दा कतिपटक आफ्नै टाउकोमा चोट लाग्यो, मायाको जाल चलचित्रमा जस्तै पुलमा हिँड्न खोजेँ, कहालिएर झण्डै खसिन । मलाई लाग्छ, नेपाली चलचित्रमा डरलाग्दा स्टन्ट भित्र्याउने नायक नै निखिल हुन् । म उनिजस्तो बन्न चाहेर पनि बन्न सक्ने कुरा त थिएन तरपनि कहिले काहिँ दिमागमा उनको जस्तै स्टन्ट गर्ने भूत सवार हुन्थ्यो । कुनै एउटा चलचित्रको दृश्यमा निखिलले आफ्नो शरीरमा आगो लगाएका थिए, त्यो देखेपछि मलाई पनि त्यस्तै गर्ने अनि फोटो खिच्ने जोश उठ्यो । त्यसबेला अहिले जस्तो डिजिटल क्यामेरा छ्याप्छ्याप्ती थिएन । रिल राख्ने क्यामेरा चाहिँ कताकति पाइन्थ्यो । क्यामेराको एउटा रिलमा ३५-३६ वटाजति फोटो खिच्न मिल्थ्यो र रिल सकिएपछि कलर ल्याबमा लगेर धुलाउनु पर्थ्यो । क्यामेरा, रिल र ब्याट्रीको जोहो गरेपछि एउटा पुरानो सिरकको खोल च्यातेर हातमा बाधेँ, अनि मटि्टतेल खन्याएर आगो लगाएँ । साथी रामप्रसाद भण्डारीलाई फोटो खिच्न भनेको थिएँ, तर आगो लगाउने बित्तिकै मेरो हातमा बाँधिएको कपडा ह्वारह्वार बल्न थाल्यो । हामी दुबैजना आत्तियौँ, आगोको ज्वालाले दारी र कपालमा चुरुरु आवाज आउन थालिसकेको थियो । तरपनि म चाहन्थेँ, फोटो खिचियोस् नत्र त्यो सब परिश्रम बेकार हुनेछ । मेरो हात पोल्न थालिसकेको थियो, साथीलाई "फोटो खिच्नुभयो ?" भनेर सोधेँ । वहाँले "खिचेँ " भन्नासाथ म आगो निभाउनका लागि बाल्टीनमा तयार पारेको पानीमा हत्त न पत्त हात डुबाउन खोजेँ तर एक्कासी हात तल लैजाँदा हावाको बेगले आगो मेरो अनुहारमा आयो । अलि अलि पोलेपनि त्यसले गम्भिर असर चाहिँ परेन । आगो निभेपछि झुम्रा फुकाएँ, हात चाहिँ बेस्सरी गुम्सीएको रहेछ । तनाव केहीदिन सम्म थियो, फोटो आयो कि आएन होला... यी, यस्तो आएको रहेछ फोटो ।

No comments:

Post a Comment