सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Monday, September 11, 2017

जिल्ला शिक्षा अधिकारी (कास्की) लाई खुला पत्र

आदरणिय जिल्ला शिक्षा अधिकारी ज्यू ,
सञ्चै हुनुहुन्छ ? के को सञ्चो मात्रै र, हाइसञ्चो भएको छ नि ! हैन त ? शिक्षकहरू विद्यालयका समस्या लिएर आए भने “नेपालको नयाँ संविधानले माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ, अब आ–आफ्नो स्थानीय तहमा जानेस् ।” भन्यो, पन्छियो, कति आनन्द हगि ? हैन, किन यस्तो व्यङ्ग्य गरेको भनेर कन्सिरी तात्यो होला, माफी चाहन्छु ।
माफी त मैले माग्नै पर्छ, किनकी मैले ठूलो गल्ती जो गरेको छु । म शिक्षक सेवा आयोगको शिफारिसमा जिल्ला शिक्षा अधिकारीबाट नियुक्तिपत्र लिई खटिएको प्राथमिक तह तेश्रो श्रेणीको स्थायी शिक्षक हुँ । तर म तेश्रो दर्जाको भएको महशुस गरिरहेको छु । योग्यताक्रमका आधारमा मेरोभन्दा धेरै पछाडि नाम भएका साथीहरूले सुगम र घरपायक विद्यालयमा नियुक्ति पाएपनि मलाई कुनैपनि हिसाबले पायक नपर्ने स्थानमा पु¥याईयो, यसमा मैले कुनै प्रतिक्रिया जनाईनँ, शिक्षा कार्यालयको निर्णय शिरोधार्य गरि खुरुखुरु आफूलाई खटाइएको कार्यक्षेत्रमा पुगेँ र आफूलाई दिइएको जिम्मेवारी बहन गर्नतर्फ लागेँ । शिक्षक पदमा नियुक्त भएपछि मैले कुनैपनि राजनैतिक दल वा तिनका भातृ संगठनको टिकट लिइनँ, मेरो पहिलो गल्ती त्यहिँबाट शुरू भयो ।
आफूले पढाएका विद्यार्थीहरूलाई कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ, आफ्नो विद्यालयलाई कसरी नमुना विद्यालय बनाउन सकिन्छ भन्नेतिर मात्रै मेरो ध्यान गयो । विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि मेरो भूमिका महत्त्वपूर्ण बनाउन म अहोरात्र खटेँ, निजि विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा राम्रो शैक्षिक वातावरण कायम राख्नतर्फ लागेँ, विद्यार्थीहरूलाई नैतिक शिक्षा सिकाएँ, अंग्रेजी माध्यमबाट पठन पाठन गराउँदै नेपाली विषयमा समेत अब्बल बनाएँ । आफ्नो क्षमता अनुसारको सूचना प्रविधिमैत्री विद्यालय बनाउनतर्फ लागेँ, शिक्षण सिकाईमा ICT को भरपूर प्रयोग गरेँ, पुरानो फाइलिङ सिस्टमलाई पेपरलेस डिजिटल सिस्टममा रुपान्तर गरेँ, परीक्षा प्रणाली निरन्तर मूल्यांकनमा परिणत हुँदैगयो, तालिममा सिकेका सीपहरू कक्षाकोठामा प्रयोगमा आए । विद्यालयका शैक्षिक गतिविधिहरू अनलाईन मार्फत नियमित सार्वजनिक गर्ने व्यवस्था मिलाएँ, शैक्षिक गुणस्तर र विद्यार्थीसंख्या वृद्धि गर्नतर्फ लागेँ । मेरो अर्को गल्ती यो भयो ।
हामी सरकारी तलब खाने सामुदायिक विद्यालयका शिक्षकहरू सबैभन्दा बढि जिम्मेवार हुनुपर्छ, सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफ्ना छोराछोरी पनि सामुदायिक विद्यालयमै पढाउनुपर्छ अनि पो बल्ल समानता कायम गर्न सकिन्छ । सबैलाई आफ्ना छोराछोरी सरह समान शिक्षा दिन सकिन्छ भन्ने मलाई लाग्यो । म भाडामा बस्ने घरको आँगनमा आउने बोर्डिङ स्कूलको बसमा चढ्ने साथीहरूलाई बाई बाई गर्दै मेरी छोरी सरकारी विद्यालयको पोशाक लगाएर विजयपूर खोला तर्दै पानी र पसिनाले निथ्रुक्क भिज्दै मैले पढाउने विद्यालयमा पढ्न थालिन् । छोरीले पनि राम्रो पढ्दै गइन् । रा.प्रा.क.प.का. अन्तरगत झाँझरमारे श्रोतकेन्द्रमा आयोजित द्रूत पठन प्रतियोगितामा प्रथम भएर विद्यालयको इज्जत बढाईन् । सबै विद्यार्थीहरूको स्वरमा मेरी छोरीको स्वर पनि मिसिन थाल्यो, जो हाँसे पनि मेरै छोरी हाँसेजस्तो, जो रोएपनि मैरै छोरी रोएजस्तो, सबै मेरै छोराछोरी, सबैको शिक्षक पनि म, अभिभावक पनि म भन्ने अनुभूति भयो । यसो गर्नु पनि मेरो ठूलो गल्ती भयो ।
पोहोरको वर्षायामको कुरा । रातभरी पानी प¥यो, विद्यालय जाने बेलासम्म पनि झरी थामिएकै थिएन, विजयपूर खोला उर्लेको थियो, जंघार तर्ने आँटै आएन । अलि फेरो बाटो भएपनि पुल तरेर विद्यालय जाँदै थिएँ, पुल तरिसकेपछिको बाटोमा पहिरो थियो, छोरीलाई बोकेर बिस्तारै पहिरो पार गर्न लाग्दा मैले टेकेको ठाउँको माटो भासीन थाल्यो, तल उर्लेको खोला थियो, हंसले ठाउँ छोड्यो तथापि सम्हालिँदै चार हात खुट्टा टेकेर लगलग काँप्दै पहिरो पार गरेँ । छोरी मेरो पिठ्युँमा चुम्बकझैँ टाँसिएर छिटो छिटो सास फेर्दै थिइन् , डरले चिच्याईरहेकी छोरीलाई नडराउ नडराउ भन्दै म पहिरो पार गर्दै थिएँ, तर मेरो डरको अनुमान गरिदिने कोही थिएन । पहिरो पार गरिसकेपछि शायद म कुनै ठूलो युद्ध जितेको सिपाही जस्तो देखिएँ तर उत्निखेरै छोरीले “बाबा बरु मलाई पनि बस चढेर जाने स्कूलमा भर्ना गरिदिनुस् न ! मलाई त खोला र पैह«ामा साह«ै डर लाग्छ ।” भनेपछि मेरा गह भरिए, म नाजवाफ भएँ ।
त्यो दिन नै उक्त कुरा प्रधानाध्यापक श्री जमान बहादुर गुरुङ र स्रोतव्यक्ति सेतीमाया पराजुलीलाई जानकारी गराएँ । म आफू त जे हुन्थेँ हुन्थेँ, “बच्चाको ज्यान हत्केलामा राखेर कति दिन ओहोर दोहोर गर्नु” जस्तो लागिरह्यो । मैले छोरीलाई पनि भनेँ, “छोरी, म अब जिल्ला शिक्षा कार्यालय गएर अर्कै विद्यालयमा सरुवा माग्छु ।” अर्को दिन म विद्यालय गईन, जिल्ला शिक्षा कार्यालयमा गएर मलाई अर्कै विद्यालयमा सरुवा गरिदिन लिखित निवेदन गरेँ, वहाँले त्यो निवेदन यसो हेरेझैँ गरेर तोक लगाएर वि.प्र.मा दर्ता गर्न भन्नुभयो, वहाँसँग शिक्षकका समस्या सुन्ने “फुर्सद” नै कहाँ हुनु ! तैपनि कहिँ “खाली” भएको खण्डमा सरुवा गरिदिने आश्वासन चाहिँ दिनुभयो । त्यसबेला जि.शि.अ.रमाकान्त शर्मा हुनुहुन्थ्यो । वहाँ फेरीनुभयो शंकर गौतम आउनुभयो, वहाँ पनि फेरीनुभयो तपाई (नन्दलाल पौडेल) आउनुभयो, तपाई पनि फेरीएर फेरी नरेन्द्र पौडेल आउने कुरा सुन्दैछु । जि.शि.अ. धेरै फेरीनुभयो तर मेरो समस्या फेरीएन । फेरी वर्षायाम शुरु भएसँगै हामी बाबुछोरीको उहि चिन्ता शुरु भयो ।
जि.शि.अ. ज्यू को आश्वासन मलाई याद थियो त्यसैले म जिल्ला शिक्षा कार्यालय गएँ । खाली भएको विद्यालयमा पठाइदिने कुरा थियो, त्यसैले खाली विद्यालय खोज्दै म आफैँ भौँतारिएँ । हेम्जाको याम्दीस्थित बालकल्याण आ.वि. का प्र.अ.सँग भेट भयो । म अंग्रेजी खरर बोल्न सक्ने मान्छे, कम्प्युटरमा दक्ष मान्छे अनि मन लगाएर गुणस्तरीय शिक्षा दिन लागि परेको मान्छे भएको कुरा वहाँमात्रै हैन, त्यो विद्यालयका अभिभावकहरूलाई समेत थाहा थियो । त्यसपछि त्यहाँको वि.व्य.स. ले मेरो नामै तोकेर मलाई त्यस विद्यालयमा सरुवा गर्नका लागि जिल्ला शिक्षा अधिकारीलाई अनुरोध ग¥यो । दुवै विद्यालयले दोहोरो सहमतिपत्रमा हस्ताक्षर गरे तरपनि मलाई उक्त विद्यालयमा सरुवा गरिएन । म कैयौँ पटक जि.शि.का. गएँ । कहिले स्थानिय तहको सिफारिस चाहिन्छ भनियो, कहिले त्यो विद्यालयमा रिक्त दरबन्दी नै छैन, त्यसैले मिल्दैन भनियो, कहिले चण्डिका आ.वि. को दरबन्दी काटेर मात्र त्यहाँ सरुवा गर्न मिल्छ भनियो । शायद जि.शि.अ.लाई वि.व्य.स.को पत्र हैन, कुनै पार्टी कार्यालयबाट पत्र आउनुपथ्र्यो होला । अहिले उक्त विद्यालयमा दूईजना शिक्षक सरुवा गरेर ल्याईयो, यदि मिल्दै नमिल्ने ठाउँमा मैले सरुवा मागेको भए, अरुलाई सरुवा गर्न मिल्ने, मलाई सरुवा गर्न नमिल्ने कारण के थियो ?

आदरणिय जि.शि.अ. ज्यू ,
मलाई अहिले आएर साँच्चै गल्ती गरेको महशुस भइरहेको छ । आजकल आफ्नो मनले आफैलाई गाली गर्छ, “कस्तो बुद्धु मान्छे नि तँ छि ! जे जस्तो समस्या भएपनि खुरुखुरु विद्यालयमा गएर पढाउने हो ? विद्यालयमा ‘हाजिर’ गरेर पार्टीका कार्यालयमा उपस्थित हुनुपर्दैन ? यो देशको सरकारको तलब तैँले मात्र खाएको होस् ? तँ जस्ता अरु शिक्षकले त आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएकै छन् त ?! शिक्षक मात्रै हो र ? निजामती कर्मचारी, सैनिक, प्रहरी, डाक्टर, पाइलट, इन्जिनियर, देखि लिएर देशको ढुकुटीबाट तलब खाने नेता, सांसद, मन्त्रीगण कसले पढाएका छन् आफ्ना छोराछोरी सरकारी विद्यालयमा ? खुब ईमान्दार बन्नुपर्ने नि तँलाई ? कि तक्मा पाईस् शिक्षा दिवसमा ?” म आवक् भएँ, “अरु केही गर्न नसकेपनि अबदेखि छोरीलाई त्यो खोला पहिरामा चाहिँ लान्न लान्न ।” यो दृढ अठोटका साथ एक भारी किताब कापी किनेर छोरीलाई बोर्डिङ स्कूलमा भर्ना गरिदिएँ । आजकल विद्यालयबाट फर्केपछि हात खुट्टामा लौरीका निलडाम देखाउँदै छोरीले भन्छिन् , “बाबा मलाई स्कूलमा मिसले पिट्नुभयो ।” म छोरीलाई गम्लङ्ग अँगालो हाल्दै मेरो आँसु छोरीले नदेख्ने गरी खुसुक्क कानमा भन्छु , “छोरीले खोलो र पहिरो त पार गर्नु पर्दैन नि !” छोरी आफ्नो आँखाको आँसु पुछ्दै भन्छिन् , “बाबा तपाईको सरुवा कहिले हुन्छ ?”

टिकाराम गौतम
शिक्षक,
श्री चण्डिका आधारभूत विद्यालय, मादी–५, कास्की
सम्पर्क ९८०६७५७०१३, ९८४६०६३०४०
www.tikagautam.com.np