सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Monday, September 11, 2017

जिल्ला शिक्षा अधिकारी (कास्की) लाई खुला पत्र

आदरणिय जिल्ला शिक्षा अधिकारी ज्यू ,
सञ्चै हुनुहुन्छ ? के को सञ्चो मात्रै र, हाइसञ्चो भएको छ नि ! हैन त ? शिक्षकहरू विद्यालयका समस्या लिएर आए भने “नेपालको नयाँ संविधानले माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ, अब आ–आफ्नो स्थानीय तहमा जानेस् ।” भन्यो, पन्छियो, कति आनन्द हगि ? हैन, किन यस्तो व्यङ्ग्य गरेको भनेर कन्सिरी तात्यो होला, माफी चाहन्छु ।
माफी त मैले माग्नै पर्छ, किनकी मैले ठूलो गल्ती जो गरेको छु । म शिक्षक सेवा आयोगको शिफारिसमा जिल्ला शिक्षा अधिकारीबाट नियुक्तिपत्र लिई खटिएको प्राथमिक तह तेश्रो श्रेणीको स्थायी शिक्षक हुँ । तर म तेश्रो दर्जाको भएको महशुस गरिरहेको छु । योग्यताक्रमका आधारमा मेरोभन्दा धेरै पछाडि नाम भएका साथीहरूले सुगम र घरपायक विद्यालयमा नियुक्ति पाएपनि मलाई कुनैपनि हिसाबले पायक नपर्ने स्थानमा पु¥याईयो, यसमा मैले कुनै प्रतिक्रिया जनाईनँ, शिक्षा कार्यालयको निर्णय शिरोधार्य गरि खुरुखुरु आफूलाई खटाइएको कार्यक्षेत्रमा पुगेँ र आफूलाई दिइएको जिम्मेवारी बहन गर्नतर्फ लागेँ । शिक्षक पदमा नियुक्त भएपछि मैले कुनैपनि राजनैतिक दल वा तिनका भातृ संगठनको टिकट लिइनँ, मेरो पहिलो गल्ती त्यहिँबाट शुरू भयो ।