सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Wednesday, November 8, 2017

यस्तो पनि हुँदो रैछ गण्डकी हस्पिटलमा

सबैले भन्ने गरेको गण्डकी हस्पिटल अर्थात् पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, पोखरा । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको नाम सुन्ने बित्तिकै सबैलाई त्यहाँको भिडभाड, सास्ती, झञ्झट फोहोर, झर्कोफर्को अनि अत्यासलाग्दो वातावरण मन मष्तिस्कमा आइहाल्छ, जुन स्वाभाविक पनि हो । टिकट काट्न मात्रै घन्टौँ लाममा बस्नुपनर्ने, बल्लतल्ल टिकट काट्यो, डाक्टरलाई भेट्न उस्तै सास्ती, पैसा बुझाउन उस्तै झन्झट, नमूना संकलन गर्ने ठाउँमा उस्तै भिड, रिपोर्ट आउन उस्तै ढिलाई बल्लतल्ल रिपोर्ट लिएर आइपुग्दा डाक्टरसाब नै टाप । अनि फेरी
अर्को दिन धाउनुपर्ने बाध्यता । तपाई हामीले देख्दै र भोग्दै आएको कुरा हो पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अर्थात गण्डकी अस्पतालमा ।
पोहोरको कुरा, मैले चलाएको मोटरर्साईकल दुर्घटनामा परेर छोरी अर्चनाको देब्रे हात भाँचियो । दूरीको हिसाबले नजिकमा थियो पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, त्यहिँको इमर्जेन्सीमा पुर्याईयो उनलाई । एक्स रे को रिपोर्ट हेर्दा पाखुराको हाड प्याट्टै भाँचिएर दुइ टुक्रा नै भएको रहेछ, साह्रै तनाव भयो । सकेसम्म छिटो उपचार गराउन पाए हुन्थ्यो अनि उनको हात छिटो ठिक हुने थियो जस्तो लाग्यो । तर वहाँहरूले तुरुन्त उपचार नगरी भर्ना गर्नुपर्ने र भोलीपल्ट अपरेसन गर्नुपर्ने कुरा गर्नुभयो । भर्ना गर्ने क्रममा अरु कुनैपनि बेड खाली नभएको तर क्याबिन मात्रै खाली भएको कुरा गरियो, खर्च भन्दा स्वास्थ्य ठूलो कुरा थियो, हाडजोर्नी वार्डको क्याबिनमा राखियो ।

अस्पतालका नर्ससँग केही सोध्न पनि पैसा तिर्नुपर्छ जस्तो । कोही फेसबुकमा व्यस्त, कोही फेरी संगीतका पारखी रहेछन् क्यारे जुनबेला नि कानमा हेडफोन लगाएर बस्ने, झर्कोफर्को बाहेक राम्रोसँग बोल्दा पनि नबोल्ने । हुन त पियन ले त थर्काउँछन् स्टाफ नर्स त अलि मास्तिरका हुन् क्यारे सायद । डाक्टर आउने बेलामा सबले घेरीएका हुँदा रहेछन् सायद स्कर्टिङ गरिएका होलान् । सबै कुराको बेथिति मात्रै । स्टे्रचरको हालत हेर्दा हाडजोर्नी वार्डमा भर्ना गर्नुपर्ने जस्ता । फोहोर उस्तै । बिरामी कुरुवा पनि उस्तै जुन खाले फोहोर जहाँ पनि फालिदिने, हरियो बाल्टिनमा चाउचाउको कागज पनि छ, केराको बोक्रा पनि । कुहिने फोहोर र नकुहिने फोहोर फरक फरक ठाउँमा फाल्नुपर्छ भनेर बिरामी कुरुवालाई सम्झाउने फुर्सद अस्पतालका कसैलाई पनि हुँदैन सायद । हामीलाई ठिक समयमा ठिक सुचना नै दिइएन, अपरेसन गर्नु १२ घण्टा अगाडीदेखि नै बिरामीलाई खालीपेट राख्नुपर्ने रहेछ, तर हामीले एकाबिहानै खाजा खुवाइसकेका थियौँ । यसरी खुवाउन हुँदैनथियो, अब भरे केही नखुवाउनुस् , भोलि अपरेसन हुन्छ भनियो । छोरीको दुखाइको पिडा... समयमा उपचार नहुनु, अनि बेकारमा दिनरात अस्पतालको बास... किन आइएछ यो अस्पतालमा जस्तो लाग्यो, दसा लागेको बेलामा सबैकुरा एकैचोटी हुन्छ भन्थे हो रहेछ झैँ लाग्यो । हात भाँचिएर ल्याएको खुरुक्क प्लास्टर गरेर पठाइदिए त हुन्थ्यो नि, किन अपरेसन गर्नुपर्छ भनेका होलान् जस्तो लागिरह्यो । अपरेसन थिएटरमा लगि बेहोस बनाई अपरेसन गरेर हाड पहिले जस्तो थियो, ठिक त्यस्तै बनाउने होलान् भन्ने भयो, डाक्टर भन्दा आफू जान्ने पल्टिने कुरा पनि भएन । भनेबमोजिम खालिपेट राखियो, पानी पनि खुवाइएन ।
भोलिपल्ट । त्यसबेला अस्पतालमा फार्मेसी नै थिएन, वर्षाको बेला रुझ्दै बाहिरका पसल चहारेर अपरेसन थिएटरको लागि आवश्यक सामान किनेर ल्याएँ । अपरेसन थिएटरमा लगेपछि हामीलाई जान दिइएन, भित्र कसरी उपचार हुँदैछ, थाहा हुने कुरै भएन । अढाइ घन्टापछि छोरीलाई वार्डमा ल्याइयो, उनको होस खुलीसकेको थियो, हातमा प्लास्टर गरिएको थियो, अब छोरीलाई ठिक हुन्छ, घरमा गएर आराम गर्नुपर्छ, यहाँबाट चाहिँ डिस्चार्ज गरिदिए हुन्थ्यो भन्ने लाग्यो । तर फेरी एक्स रे गर्नुपर्ने कुरा भयो । एक्स रे गरेर त्यसको रिपोर्ट आउँदासम्म डिस्चार्च गर्ने समय गुज्रियो, अब भोलीपल्ट मात्रै डिस्चार्ज हुने कुरा भयो । तर जब एक्सरे को रिपोर्ट आयो, म छाँगाबाट खसेजस्तै भएँ, टेढो जोडेर प्लास्टर भएको रहेछ, छोरीको हात त बेसरी टेढो हुनेभयो भनेर साह्रै चिन्ता भयो । भोलीपल्ट राउन्डमा आएका डाक्टरलाई रिपोर्ट देखाएँ, अग्लो कदका सेतै कपाल फुलेका चस्मा लगाएका अलि सिनियर जस्ता देखिने ती डाक्टरले एक्सरे रिपोर्ट हेर्दा अलिकति नाक खुम्च्याए, चस्मा नाकको अलि टुप्पातिर सारेर आँखा फारेर यसो हेरे अनि भने एसेप्टेबल छ, अलि हयाङ्गिङ मिलाउनुपर्छ ।
दुर्घटना भएको करिब १५-२० मिनेट भित्र अस्पताल पुर्याइएपनि चौँथो दिन बल्ल अस्पतालबाट निस्कन पाईयो त्यो पनि बाङ्गो गरी जोडेर प्लास्टर गरिएको हात लिएर । फलो अपका लागि अर्को हप्ता बोलाइएको थियो, अघि नै भनेबमोजिमका यावत् सास्ती भोगेर बल्ल तल्ल डाक्टरको रुममा पुगियो । पहिले कुन डाक्टरले जाँच गरे, कुन डाक्टरले उपचार गरे, कुन डाक्टरले फलो अप गर्दैछन् केही पत्तो नहुने । न कुनै डाक्टर चिनेको छ, न त जाँच्दै गरेका डाक्टरलाई तपाईको नाम के हो ? भनेर सोध्नु । नाम थाहा भएपनि अर्को पटक आउँदा उनै डाक्टर त्यहाँ हुन्छन् भन्ने पनि के ग्यारेन्टी । के भएर आएको ? भन्ने अनि ल एक्स रे गरेर आउनुस् भनेपछि पैसा तिर्ने लाइनमा २ घन्टा एक्सरे गर्ने लाईनमा २ घन्टा अनि रिपोर्ट आउन एक घन्टा त्यसपछि आउँदा डाक्टर नै नभेटिने । भोलिपल्ट आउँदा हिजोको डाक्टर नै नभेटिने ।

कसैले भन्थे, हृया... खुरुक्क प्राइभेटमा नगएर...   तर म हरेक हप्ता फलो अपको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल नै धाइरहेको थिएँ । अघिल्लो हप्ता एकजना डाक्टरले हृयाङ्गिङ अलि टाइट गर्नुपर्छ भन्नुभएकोले कसिलो गरियो, अर्को हप्ता फलो अप गर्न जाँदा हाड झनै टेढो देखियो । अर्को हप्ता चाहिँ अर्का डाक्टरले हृयाङ्गिङ नै मिलेन, अलि खुकुलो गर्नुपर्ने भन्नुभयो । हरेक हप्ता उस्तै सास्ती, उस्तै तनाव, छोरीको हात झनै बाङ्गो देखिँदै थियो । ती दिनहरू सम्झँदा पनि वाक्क लाग्छ । भोग्नेलाई मात्र थाहा हुने रहेछ । तेस्रो पटकको फलो अपको बेलामा चाहिँ अलि मिजासिला डाक्टरसँग भेट भयो । मान्छे हेर्दा नि होनहार, जोस जाँगर बोकेजस्ता, बिरामीको कुरा सिरियस रुपमा सुन्ने अनि खुब राम्रोसँग सल्लाह दिने (यी डाक्टरको बारेमा म अर्को ब्लगमा लेख्नेछु)