सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Saturday, November 4, 2017

सफल शिक्षकलाई "हार्दिक बधाई"

तपाई शिक्षक हुनुहुन्छ ? पत्रपत्रिकामा फोटोसहित हार्दिक बधाई लेखाउन तपाइलाई रहर लागेको छ ? हार्दिक बधाई पाउन सफल एकजना प्रतिनिधि पात्रको कथा यहाँ प्रकाशित भएको छ । कथालाई केवल कथाको रुपमा ग्रहण गर्नुहोला, कसैको वास्तविक जीवनसँग मेल खान पनि सक्छ, त्यो मेरो गल्ति हैन ।

वास्तविकता यस्तो छ -
पञ्चायती कालो व्यवस्था, देशमा बसिसक्नु टिकिसक्नु छैन । घरको समस्या उस्तै, दुइ छाक टार्न पनि धौ धौ । पढ्न लेख्न त कति नै मन थियो नि, भएर के गर्नु ? जसोतसो आठ कक्षासम्म त पढेकै हो, त्यसपछि गाउँमा माध्यमिक विद्यालय थिएन, टाढा गएर पढ्न सक्ने क्षमता भएन । घरको समस्याले कहाँ जाउँ र के गरौँ भएका बेला इन्डियाबाट लाहुरे दाई टुप्लुक्क आइपुग्छन् । लाहुरका मिठा मिठा कुरा सुन्दा आज जाउँ कि भोलि जाउँ भनेजस्तो हुन्छ, नभन्दै लाउरेसँगै इन्डिया टाप कस्ने मेलोमेसो पनि जुर्छ । भर्ती हुन कोसिस पनि नगरेको हैन, भर्ती हुन लेख्या रैनछ, भाँडा माझ्न पो लेख्या रैछ ।
दुइचार वर्ष भाँडा माझेर अलि अलि पैसा पनि जम्मा हुन्छ, त्यस्तैमा एक जनाले बनारसमा गएर अलिकति पैसा खर्च गर्न सके सक्कली जस्तै सर्टिफिकेट पाइने कुरा सुनाउँछ । मेटि्रक पास, आई ए पास, बि ए पास जति धेरै पैसा तिर्न सक्यो उति धेरै पास । हृया, जाबो मेटि्रक पासको त के लानु र, बि ए पासकै पो लिएर जानुपर्छ नेपाल जाँदा सर्टिफिकेट त ।

सर्टिफिकेट बोकेर नेपाल पनि आउनु, गाउँको विद्यालय मा. वि. पनि हुनु, देशमा पञ्चायती व्यवस्था अन्य भएर प्रजातन्त्र पनि आउनु । गज्जबको संयोग । गाउँको विद्यालयमा शिक्षक दरबन्दी रिक्त हुन्छ । इन्डियाको बाक्लो पैसा र बाक्लो सर्टिफिकेट अर्थात भारु सर्टिफिकेटको अगाडी नेपालका पातला सर्टिफिकेट बेकम्मा हुन्छन् । बेकम्मा सर्टिफिकेटहरू साउदी कतारमा बिक्छन् । २०४८ सालमा स्वतः स्थायी हुने चिट्ठा पनि पर्छ । पढाएको कुरा विद्यार्थीले उति नबुझ्ने तर गाउँका मान्छेहरुले राजनीतिका कुरा चाहिँ ध्यान दिएर सुन्ने, त्यसैले बिस्तारै राजनीति तिर चासो बढ्दै जान्छ । अनि जुन पार्टीले जित्ला जस्तो लाग्छ उहि पार्टीका नेताको झोला बोक्यो भजन गायो... न कसैले केही भन्न सक्ने, न केही गर्न सक्ने । फेरी जग्गाको कारोबारको जमाना आउँछ, यसो गफ गरेको भरमा पैसा आउन थाल्छ । शहरमा राम्रो घडेरी पनि जोडिन्छ । पार्टिलाई निरन्तर चन्दा दिइरहेपछि नेताहरूसँग नजिक हुन पनि सजिलो हुन्छ, विद्यालय नियमित नजाने, गएपनि मन लगाएर नपढाउने नगरे पनि हेडमास्टरले समेत केही भन्न सक्दैनन् किनकी नेताको नजिकको मान्छेलाई केही भनेर खतरा मोल्ने कुरा पनि भएन ।

"पार्टीलाई पटक पटक चन्दा दिएको, नेताका लागि यत्रो दुःख गरेको के अर्थ ? बढुवा हुनुपर्छ है यसपटक त ।" यति भनेको भरमा एक तह बढुवा पनि भईहाल्छ । विद्यालयको चौरको डिलबाट फोन गरेर फलाना ठाउँको घडेरी यस्तो... यति पिछाड... यति लाख...उति करोड भनेर भन्दैमा पिरियड सकिन्छ । उता शहरमा घर बनाउन थालेकोले विद्यालयमा हप्तामा एक दुइ दिन हाजिर हुन पनि गाह्रो हुन्छ । तनावै तनाव, कहिले ठेकेदार नआउने, कहिले सिमेन्ट नआउने, कहिले रड सकिने... कहिले कक्षामा पस्न पाएको छैन ठेकेदारको फोन आउँछ, कहिले घडेरी किन्ने मान्छेको । विद्यार्थीहरू यहि विषयमा बढि फेल भए भनेर यदाकदा आवाज उठ्न थाल्छ । शहरतिरै सरुवा हुन पाए हुन्थ्यो भन्ने लाग्छ । नेतालाई फोन गर्ने बित्तिकै त्यो पनि भइहाल्छ ।

शहरको विद्यालयमा सरुवा भएपछि भने सजिलो हुन्छ । घडेरीको कारोबार गर्न पनि सजिलो, आफ्नो घर बनाउन पनि सजिलो हुन्छ । घर सम्पन्न भएपछि घरमा वास्तु पूजा हुन्छ । शहरका चर्चित डिजे सहितको पार्टीमा बेलुका चियर्स गर्न विद्यालयका सबै शिक्षक स्टाफ, शिक्षकका नेतागण, पार्टीका नेतादेखि शिक्षाका कर्मचारी सम्मको जमघट हुन्छ । बियर, वाइन, हृवीसकीका बिर्काले नै बोरा भरिन्छ । पार्टीमा सबैको एउटै आवाज सुनिन्छ, यस्ता सफल शिक्षकलाई आगामी शिक्षा दिवशमा शिक्षा मन्त्रीको हातबाट पुरस्कृत गरिनुपर्छ ।

अनि,

ती शिक्षक पुरस्कृत हुन्छन् ।

र,

भोलिपल्टका पत्रपत्रिकाहरूमा रंगिन फोटो सहित ठूला ठूला अक्षरमा "हार्दिक बधाई" छापिन्छ ।