सूचना

यस पेजमा प्रकाशित कुनैपनि सामाग्रीहरु प्रकाशकको अनुमति बिना पूर्ण वा आंसिक प्रति कपि गर्न, वा अन्य कुनै पेजमा प्रकाशित गर्न पाइने छैन । यदि कोही कसैले त्यसो गरेको पाईएमा त्यो प्रतिलिपि अधिकार विरुद्द हुनेछ र कानुनतः दण्डनिय हुनेछ ।

Tuesday, November 21, 2017

"प्रेमालय" पढ्ने युवकले गरे आत्महत्या ।

मान्छे सन्की भएपछि केही लाग्दैन, प्रेम पाउनका लागि अरुको हत्या गर्ने र आफूले चाहेको प्रेम नपाउँदा आत्महत्या गर्न समेत पछि नपर्ने घटना हामीले पढ्दै र सुन्दै आएका छौँ । प्रशंग हो हालै बजारमा आएको उपन्यास "प्रेमालय" को । "प्रेमालय" केही विशेष छ जस्तो त मलाई शुरुदेखि नै लागेको थियो, किनभने लोकप्रिय पत्रिका साप्ताहिकका सर्वप्रिय लेखक । युवामनलाई छोएर लेख्नसक्ने सुन्दर छवि बनाएका लेखक अश्विनी कोइरालाले लेखेको उपन्यास हो प्रेमालय । त्यसकारण पनि यसपटक मलाई प्रतिक्षा  थियो यो उपन्यासको ।
पुस्तक पढ्न एकान्त चाहिन्छ मलाई । पुस्तक पढ्न शुरु गरेपछि पुस्तकबाट आँखा हटाउनै मन नलाग्ने तर समय मिलाउनै गाह««ो । हातमुख जोड्ने प्रपञ्चका लागि बिहान सबेरैदेखि कुद्नु पर्ने बाध्यताका बीच बचेखुचेको समय निकालेर, कहिले चौरमा बसेर, कहिले बिस्तरामा पल्टेर, कहिले प्रतिक्षालयमा, कहिले कता, कहिले कता गरेर "प्रेमालय" पढिछाडेँ ।
मलाई कुनैपनि पुस्तक खासगरी औपन्यासिक विधा पढ्दैजाँदा त्यसका पात्रहरूका छेउछाऊमा आफूलाई पनि उभ्याउन मन लाग्छ, कहिले कथाले कल्पना गरेका बस्तीहरूका भित्रि बाटोमा म हिँडिरहेको छु अनि ती पात्रहरूलाई मैले पनि चिनेको छु जस्तै लाग्छ । सहज मेरो कलेजको साथी हो अनि गजमेर प्रेमालयमा भेट भएको मित्र हो जस्तै लाग्यो । गुराँश, वासन्ती सबैलाई म नजिकबाट चिन्छु झैँ लाग्यो अनि ऋषभ सरको अगाडी बसेर घन्टौ वहाँका कुरा सुनेको छु जस्तै लाग्यो यसपटक ।
प्रेमको प्रमाण खोज्नेहरुका लागि गतिलो झापड हो "प्रेमालय" । प्रेमलाई लगेर यौनमा टुङ्ग्याउन खोज्ने काइते प्रेमीहरूका लागि
>गहकिलो जवाफ हो प्रेमालय । प्रेम गरेपछि त्यसलाई विवाहमा लगेर समापन गर्नुपर्छ भन्ने सङ्किर्ण विचारधारीहरूका लागि औषधि हो प्रेमालय । प्रेमको विषय आफैँमा गम्भिर छ र यसको अध्ययन त झनै गम्भिर । वास्तवमै यो संसारमा प्रेमशाश्त्र पढाईहुने कलेज स्थापना भयो भने त्यसको श्रेय प्रेमायलका परिकल्पनाकारलाई नै जान्छ । प्रेम र यौनको विषयलाई बडो गहिरिएर उजागर गरिएको यो उपन्यास भाग १ मात्र हो जस्तो लाग्यो । सरल र सरस तरिकाले लेखिएको यो उपन्यासको विशेषता भनेको पढुञ्जेलसम्म पाठकलाई खुल्दुल बनाईराख्न सक्नु नै हो । कतिपय अनावश्यक शब्दजालहरूका कारण पाठकलाई लाग्न सक्ने बोरिङलाई छाड्ने हो भने उपन्यास उत्कृट छ । तथापि गम्भिर विषयमा उत्तरआधुनिक उपन्यास पढ्ने बानी परेका कल्पनाशील पाठकका लागि भने "प्रेमालय"को कोर्स अधुरो हुन सक्छ ।
जहाँ प्रेम हुन्छ, त्यहाँ न घृणा हुन्छ, न रीस हुन्छ, न इगो हुन्छ, न इश्र्या हुन्छ । जताततै प्रेम नै प्रेम हुन्छ । आफूले प्रेम गरेको मान्छेलाई अरुले पनि प्रेम गर्छ भन्नेकुरा थाहा पाउँदा मुटु जल्छ भने त्यो प्रेम नै होइन । प्रेम गरेको मानिससँग यौन सम्बन्ध स्थापित गर्नैपर्छ भन्ने सोचमा नै कमजोरी छ । प्रेम गर्नका लागि न कुनै खास उमेर तोकिएको हुन्छ, न त स्थान र अवस्था नै । यी र यस्तै धेरै कुराहरू सिकाउँछ प्रेमालयले । प्रेमलाई साँघुरो परिभाषाभित्र  खुम्च्याउने कुचेष्टा प्रेमालयले कदापी गरेको छैन । यद्यपी प्रेमालय पढिसक्दा अन्त्यमा के पुगेन के पुगेन जस्तो चाहिँ लागिरह्यो । प्रेमका बारेमा लेखिएको पुस्तक खोजी खोजी पढ्ने म जस्ता पाठकका लागि यतिले मात्रै धित मर्दै मरेन । आजकल उपन्यास वियोगान्त बनाउने होडबाजी चलेको छ, शायद त्यसैले होला, प्रेमालयमा गएर प्रेमशाश्त्र पढ्ने सहज र गुरु ऋषभ दुबैको लेखकले अनायासै हत्या गरेका छन् । त्यसकारण पनि उपन्यासमा अझै धेरै लेख्न सकिने ठाउँ हुँदा हुदै पनि मूलपात्रलाई आफ्नै गुरुको हत्या गरि आत्महत्या गर्न लगाएर लेखकले गर्न खोजेको के हो ? भन्ने प्रश्न मनमा मडारिइरह्यो । कतिपय लेखकिय कमजोरीलाई स्विाकारेर अर्को प्रयास गर्ने हो भने, अर्थात भनौँ, "प्रेमालय २" आयो भने, मलाई आशा एवं विश्वास छ, सुपर डुपर हिट हुनेगरी आउनेछ । जब मैले लेखकलाई सोधेँ, "प्रेमालय २" कहिले आउँछ ? वहाँले हाँसेर टारिदिनुभयो ।